प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
काठमाडाैं | चैत १३, २०७९
काठमाडौं: हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिक सत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियति जस्तै थियो ।
छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यसपटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरूको दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यसपटक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले नियमित चासो देखाउनुभएपछि छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले छपाइ र ढुवानी तीव्र बनाएको छ ।
केन्द्रका अनुसार आजसम्म कूल एक करोड ३५ लाख थान पाठ्यपुस्तक छपाई सम्पन्न गरेको छ । अब कूल १५ लाख थान पुस्तक छाप्न बाँकी छ । सातदिनभित्रै सबै पुस्तक छपाई सक्ने केन्द्रको दाबी छ ।
गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले विशेष चासोका साथ पाठ्यपुस्तक छपाई र वितरणमा लाग्न केन्द्रलाई शिक्षा मन्त्रालयमार्फत निर्देशन दिनुभएको थियो ।
विवरणअनुसार कक्षा छ का लागि कूल २८ लाख ५० हजार पुस्तक आवश्यकमध्ये हालसम्म २८ लाख थान छपाई भइसकेको छ । कक्षा सातका लागि पनि समान २८ लाख ५० हजार थान पाठ्यपुस्तक आवश्यकमध्ये २८ लाख पाठ्यपुस्तक छपाई भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिल झाले जानकारी दिनुभयो ।
यस्तै, कक्षा आठका लागि २९ लाख थान पाठ्यपुस्तक चाहिनेमा आजसम्म २२ लाख थान पुस्तक छपाई भइसकेको छ । थप सात लाख थान पुस्तक छाप्न बाँकी छ । कक्षा ९ का लागि ३२ लाख थान पाठ्यपुस्तक चाहिनेमा हालसम्म २९ लाख पुस्तक छपाई भइसकेको छ । बाँकी रहेको तीन लाख थान पुस्तक चैतभित्रै छपाई र वितरण गरिसक्ने केन्द्रको तयारी छ । साथै कक्षा १० का लागि ३२ लाख थान पुस्तक चाहिनेमा हालसम्म कूल २८ लाख थान छपाई भइसकेको र अब चार लाख थान छपाई हुन बाँकी रहेको केन्द्रको दाबी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छपाई र वितरणको सूचना हरेक दिन उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि पाठ्यपुस्तक छपाई र वितरणमा कुनै पनि समस्या आउन नदिन केन्द्रलाई बारम्बार निर्देशन दिनुभएको छ ।
“नियमितरुपमा अनुगमन पनि भइरहेको छ । छपाइको गुणस्तरमा समेत ध्यान दिइएको छ”, झाले भन्नुभयो, “सम्बद्ध निकायबाट प्राप्त निर्देशनलाई अक्षरशः कार्यान्वयन गरिएको छ ।”
चैतभित्रै सबै विद्यालयमा पुस्तक पुर्याउने योजनाका साथ केन्द्रले काम गरिरहेको उहाँको भनाइ छ । यसका लागि लागि देशभर आठ वटा वितरण केन्द्रमा यही चैत २० गतेभित्रै पुस्तक पुर्याइनेछ । हालसम्म ती वितरण केन्द्रमा एक करोड थानभन्दा बढी पाठ्यपुस्तक पुगिसकेको छ ।
शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पुस्तक नपाउँदा विगतका वर्षमा सरकारको आलोचना हुने गरेको थियो । यसपटक भने समयमै पुस्तक पुर्याउन हरसम्भव प्रयास गरिएको प्रबन्ध निर्देशक झाको भनाइ छ ।
केन्द्रले कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक भने निजी क्षेत्रलाई जिम्मा दिएको छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुवेदीले सबैको चासो, नियमित अनुगमनलगायतका कारणले गर्दा यसपटक विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउने सुनिश्चितता भएको जानकारी दिनुभयो ।
उहाँले निजी क्षेत्रका छापाखानाले पनि समयमै छपाई सम्पन्न गरी वितरण गर्ने विश्वास मन्त्रालयले लिएको बताउनुभयो । निजी छापाखानाको अनुगमन र विवरण भने पाठ्यक्रम विकास केन्द्रले दैनिकरुपमा लिइरहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

